झापा : पूर्वपश्चिम राजमार्गको दमक– ९ स्थित चिया दोकान नजिकैको भित्री सडकमा आज बिहान शङ्कास्पद बस्तु फेला परेको छ ।

एउटा टिनको बट्टामा तार बाँधेर सडकमा फालिएको अवस्थामा सो शङ्कास्पद बस्तु भेटिएपछि दमक प्रहरीले सेनाको सहयोगमा निष्क्रिय गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए ।

उनका अनुसार त्यस शङ्कास्पद बस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ९ बजे निष्क्रिय बनाएको हो ।

बिहानै त्यस शङ्कास्पद बस्तु देखिए पछि त्यस आसपासका बासिन्दाहरू त्रसित भएका थिए । फेला परेको त्यस शङ्कास्पद बस्तुमा नेकपा विद्रोही समूहको पर्चा टाँसिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ ।

प्रहरीले बम भनेर त्रसित बनाउने समूहको खोजी कार्य भइरहेको प्रनाउ कार्कीले बताए । सो टिनको बट्टामा ढुङ्गा हालेर राखिएको पाईएको छ ।