इनरुवा : नेपाल प्रेस युनियन इनरुवा नगर कार्यसमिति सुनसरीले इनरुवा क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई १ थान ब्याग र १ थान मास्क वितरण गरेको छ ।

पत्रकारहरुको हक अधिकार र पेशागत सुरक्षाका लागि आवाज उठाउँदै आएको बेला पत्रकारहरुको आवश्यक पर्ने सामाग्री राख्नको लागि २५ जना पत्रकारहरुलाई ब्याग वितरण गरेको युनियनले जनाएको छ ।

व्याग वितरण् कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले कार्यक्रमलाई सम्बोधन गर्दै युनियन इनरुवाले गरेको ब्याग वितरण कार्यक्रमले पत्रकारहरुबीचको सम्बन्धलाई प्रगाढ पारेको बताए । पत्रकारहरुप्रति आफू सकारात्मक रहेको बताउँदै कोरोनाको बेला सबै सचेत र सर्तक रहन उनले अनुरोध गरेका थिए ।
पत्रकारहरु इनरुवाबासी, समग्र राष्ट्रको लागी चौतर्फी विकासका लागि अहोरात्र खटेको उनले बताए । पत्रकारिता पेसामा युवाहरु दिनप्रतिदिन आर्कषित भएकोले पत्रकारिता पेसाालाई मर्यादित तथा प्रभावकारी बनाउनु थप आवश्यक रहेको नगर प्रमुख मेहताले बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रमा विशिष्ट अतिथि इकवाल अहमदले लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन इनरुवा नगरले गरेको ब्याग वितरणले सकारात्मक सन्देश प्रवाह भएको बताए । वर्तमान अवस्थामा देखिएको कोरानाको महामारीलाई गम्भिरताका साथ लिन आग्रह गर्दै आफनो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न पत्रकारहरुलाई अनुरोध गरे ।

त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरी शाखाका जिल्ला अध्यक्ष जनकऋषि राईले युनियनको कार्य सराहनीय भएको बताए । नेपाल पत्रकार महासंघ सुनसरी शाखामा समावेशी तरिकाले इनरुवा क्षेत्रका पत्रकारहरुलाई समेटेको उनले बताए । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष राईले इनरुवामा नेपाल पत्रकार महासंघको भवन बनाउन आफूहरु लागिपरेको बताए । पत्रकारहरुको हकहितका लागि आफू सदैव कार्य गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

युनियन इनरुवाका सभापति टोमराज मेहताले फेसबुकमार्फत १० बुँदे घोषणापत्र सार्वजनिक गरेको केही महिनापछि।२५ जना पत्रकारहरुलाई एक/एक थान ब्याग र एक/एक पोका मास्क वितरण गरिएको हो । इनरुवा नगरपालिकाको सहकार्यमा एक हजार थान मास्क उपलब्ध गराएको सभापति मेहताले बताए ।

हस्तान्तरण कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमद, प्रदेश -१ का पूर्व सदस्य शशी कोइराला, जयकृष्ण यादव, प्रदेश सदस्य प्रमोद यादव, जिल्ला अध्यक्ष जनकऋषि राई, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह लगायतले पत्रकारलाई ब्याग हस्तान्तरण गरेका थिए ।