धरान : तेह्रथुम र सुनसरीको खनारमा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका ४ पालिका का ४६ वर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ । बुधवार बेलुका सवा ६ बजे आफ्नै घरको बरन्डामा बसिरहेको अवस्थामा पानी सँगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा बाटो मै मृत्यु भएको इलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

यसै गरी सुनसरीको इटहरी १२ खनार का २८ वर्षीय साजन सरदारको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधवार दिनको २ बजे सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागी घाइते भएका सरदारको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा सोही दिनको साढे २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।