धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साता सम्मकालागी निषेधाज्ञा जारी गर्ने भएको छ। प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गरी भोलि शुक्रवार मध्यरातीदेखि निषेधाज्ञा लागु हुने उल्लेख गरेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर (सेकेन्ड वेभ) मा दिन प्रतिदिन समुदायमा कोरोना सङ्क्रमण बढ्न थालेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले वैशाख १७ गते (शुक्रवार) मध्यराती १२ बजेदेखि २४ गते राती १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गर्ने बताएका छन् ।

उक्त समयावधि भित्र अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन। एकै स्थानमा भेला, जुलुस, छलफल र गोष्ठी गर्न पनि पाइने छैन, यस्तै, १० वर्षमुनि र ६० वर्ष माथिका व्यक्ति तथा दीर्घ रोगीलाई अत्यावश्यक बाहेक कुनै पनि काममा आउजाउ गर्न पनि निषेध गरिएको छ ।

अत्यावश्यक खाद्य सामग्रीको हकमा औषधी तथा स्वास्थ्य सामग्री पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाइनेछ । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।

खाद्य सामग्री, ग्रोसरी पसल, औषधी पसललगायत अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

सरकारी, बैक, वित्तिय, बिमा लगायत कार्यालयहरूबाट माथिल्लो निकायबाट स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न सक्नेछ भने अत्यावश्यक बाहेकका अन्य सेवालाई स्थगित गरिएको छ ।

यस्तै सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरीएको छ ।
Nisedhagya-1

Nisedhagya-2