धरान : धरान प्रवेशद्वार तीनकुनेबाट लागुऔषध सहित धरान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार बुधवार दिउसो ४ बजे धरान ९ धनकुटे रोड बस्ने मुन्ना खान भन्ने अलि मुजुजा अहमदलाई पक्राउ गरिएको हो ।

इटहरीबाट धरान तर्फ प्रदेश नं. १–०२–०४५ प ९८३ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेक गर्दा मोटरसाइकलको हेण्डीलमा झुन्डाएको रातो रङ्गको हाते झोलामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

झोलाबाट डाइलेक्स डिसी १०० एमएल लेखिएको सिलप्याक १५ बोतल, स्पामोप्रोक्सीभान प्लस लेखिएको ७२० क्याप्सुल फेला परेको थियो ।

पक्राउ परेका अलि मुजुजा अहमदलाई आजै जिल्ला अदालत सुनसरीमा लागु औषध मुद्दामा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।