इटहरी : इटहरी उपमहानगरमा कोरोना रोकथाम र नियन्त्रणका लागि टोल विकास संस्थाहरूलाई सक्रिय बनाउन थालिएको छ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण नगर स्तरीय समितिको बैठकले गरेको निर्णय बमोजिम टोल विकास संस्थाहरुलाई सक्रिय बनाउन थालिएको हो ।

सो निर्णयलाई कार्यान्वयन गर्न वडा नम्बर ९ को आयोजनामा टोल विकास संस्थाका अध्यक्षहरू र सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । वडाध्यक्ष भूपेन्द्र बरालका अनुसार आफ्नो टोलमा विदेश वाट आएका व्यक्तिहरू,पोजेटिभ बिरामीको सम्पर्कमा आएका व्यक्तिहरू र परीक्षण सिफारिस भई नतिजा नआइसकेका व्यक्तिहरूले १० दिन सम्म क्वारेनटिन बसे नबसेको टोल विकास संस्थाले निगरानी गर्ने निर्णय गरिएको छ ।

क्वारेनटिन वा होम आइसोलेसनमा बसेका व्यक्तिहरूलाई आवश्यक सर सहयोग जुटाउन समेत टोल विकास संस्थाहरुले भूमिका निर्वाह गर्ने छन् । होम आइसोलेसनमा बसेका टोलवासीहरूले अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराउने र सावधानी अपनाएको नअपनाएको बारेमा अनुगमन समेत गर्ने छन् ।

टोलमा हुने जुनसुकै जमघटमा २५ जना भन्दा बढी भेला हुन नदिने र भएमा वडा कार्यालयमा रिर्पोटिङ्ग गर्ने छन् । टोलमा रहेका हाटबजारमा स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गराउन आवश्यक सहयोग तथा पहलकदमी लिने बैठकले निर्णय गरेको छ ।