विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वसनीय सेवा दिने गरी काम गर्न आग्रह गरेकी छिन् ।

निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनीय सेवा दिन गरी काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेकी हुन् । उनले भनिन्–अस्पतालमा भर्ना भएकाहरूबाट गुनासो नआउने गरी काम गर्नुहोस् ।’

सामाजिक विकास मन्त्रालयमा आज कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा उहाँले प्रदेश १ मा उदाहरणीय कार्य गरेर देखाउन पनि आग्रह गरिन् । उनले भनिन्,‘ प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले राम्रो उपचार सेवा दिन्छ भन्ने महसुस सङ्क्रमित र तिनका परिवारमा परोस् ।’

प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरी गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक केयर सेन्टरमा आज देखि सङ्क्रमितको उपचार सुरु गरिने बताउँदै उनले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिएकी छिन् ।

उनले भनिन्,‘ आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुपर्यो , बजेटको समस्या छैन ।’ मन्त्री राईले अस्पतालको व्यवस्थापन र फोहोरको उचित व्यवस्थापन गर्न कोभिड अस्पतालको संयोजक वैद्यनाथ साहलाई निर्देशन दिएकी छिन् । बिरामीलाई औषधिको पनि कमी नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् ।

कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा ८३ वटा अक्सिजन बेड र २१ वटा भेन्टिलेटर बेड तयारी अवस्थामा रहेको बताए ।

छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल लगायतको उपस्थिति रहेको थियो ।