धरान : धरान १९ चौकीबारी निवासी पूर्व ब्रिटिस गोर्खा आर्मी समाजसेवी केवल बहादुर सेरेङ चोङवाङ लिम्बुले उनको श्रीमती स्व. आइतमाया सेरेङ चोङवाङ लिम्बु र परिवारको तर्फ वाट सेरेङ चोङबाङ संस्थाको भवनमा छत ( ट्रस्ट ) निर्माण गरी आज उद्घाटन गरी हस्तान्तरण गरेका छन् ।

उनले निधन भएका आफ्नो बुवा श्यामबहादुर सेरेङ चोङवाङ, आमा विर्खमति सेरेङ चोङवाङ तवेवुङ, ससुरा दलबहादुर आङवाङ, सासु जयरानी आङवाङ मुदेन्छोङ सावा, माइली छोरी रमिता सेरेङ चोङवाङ र नातिनी सुम्निमा वान्तावा राईको स्मृतिमा संस्थालाई छत निर्माण गरिदिएका हुन ।

निर्माण गरिएको छतको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका सभाध्यक्ष सेरेङ चोङवाङ संस्था सुनसरीका अध्यक्ष गजेन्द्र सेरेङ चोङवाङ लिम्बु र सहयोग दाता केवल बहादुर सेरेङ चोङवाङले संयुक्त रूपमा छतको शिलालेखलाई छोपिएको कपडा उघारेर गरेका थिए । धरान ८ सिद्धार्थ मार्ग स्थित भवनको छत निर्माण तिन लाख रुपैयाँमा सम्पन्न भएको संस्थाका अध्यक्ष गजेन्द्र लिम्बुले जनाए ।

निर्माणका लागि सम्पूर्ण खर्च केबलबहादुर सेरेङ चोङवाङ परिवारले उपलब्ध गराएको उनले जनाए । कार्यक्रममा बोल्ने क्रममा कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले रचनात्मक कार्यको लागि केबलबहादुर परिवारलाई धन्यवाद दिएका थिए । पूर्व ब्रिटिस गोर्खा सैनिक समेत रहेका केवल बहादुर सेरेङले आफ्नो जातीय संस्था सँगै समस्या परेका असहाय तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

उनले विभिन्न भौतिक पूर्वाधार निर्माणमा, एचआइभी सङ्क्रमित तथा प्रभावित बालबालिकाको शिक्षाको लागि, भूकम्प पीडितका लागि, लकडाउनका कारण समस्या परेका तथा बाढी पीडित लगायत असहायहरूलाई निरन्तर सहयोग गर्दै आइरहेका छन् ।

कार्यक्रममा संस्थाका संस्थापक मानबहादुर सेरेङ चोङवाङ, भिमराज सेरेङचोङवाङ लगायत संस्थाका सदस्यहरू र सहयोगदाता केवल बहादुर सेरेङका परिवारहरूको उपस्थिति रहेको थियो ।