विराटनगर : प्रदेश १ सरकारले आजदेखि कोरोना सङ्क्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल आज देखि सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि बिरामी भर्ना सुरु गरिएको छ । बिरामी भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गरेका थिए ।

अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना सङ्क्रमितको उपचारका लागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताए । उनले सङ्क्रमण दर बढेसँगै उपचारको प्रबन्ध पनि गर्दै गएको बताए । उनले निजी अस्पतालहरूसँग पनि छलफल भइरहेको बताए ।

मुख्यमन्त्री राईले विराटनगर बाहेक जिल्ला स्तरमा पनि २० बेड सम्मको आइसोलेसन केन्द्र निर्माणका लागि जिल्ला अस्पतालहरूलाई निर्देशन दिई सकिएको बताए । विराटनगरमा सङ्क्रमण बढ्दै गएकाले चेन ब्रेक आवश्यक देखिएको बताए ।

मुख्यमन्त्री राईले प्रदेश १ का ५ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको बताए । उनले विराटनगर रानी, झापाको काँकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिए ।

सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताए । कोभिड अस्पतालको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको उनले बताइन् ।

एउटा सिफ्टमा १९ जना रहने गरी व्यवस्थापन गरिएको मन्त्री राईले बताइन् । अपुग जनशक्तिका लागि पनि व्यवस्थापनको तयारी भइरहेको उनले बताइन् ।

Covid-Hospital-2