इटहरी : इटहरीको विराटनगर लाइनमा रहेको एक कवाडी पसलमा लागेको आगो नियन्त्रणमा आएको छ। ५ बजे देखि लागेको आगो ७स्३० मा मात्र नियन्त्रणमा आएको हो।

कवाडीका सामग्री थुपारेको ठाउँबाट सल्किएको आगो नियन्त्रण गर्न निकै समस्या परेको थियो। आगलागी नियन्त्रण लिन ८ वटा दमकललाई अढाई घण्टा लागेको थियो । इटहरी, दुहबी, कानेपोखरी, विराटनगर, धरान, बेलबारी, सुन्दरहरैचा लगायतको आठ वटा दमकल प्रयोग गरिएको थियो । 

नेपाल प्रहरी सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार के कारणले आगलागीको भयो भन्नेबारे अझै पत्ता लाग्न सकेको छैन । 

सम्पूर्ण सामानहरू जलेर नष्ट भएकाले क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

पछिल्लो समय इटहरी आगलागीका घटना बढ्दै गएका छन । त्यसमा पनि उद्योग तथा बजार क्षेत्र बढी प्रभावित बन्दै गएका छन् ।