झापा : जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा लागु गरेको छ। वैशाख १९ गते राती १२ बजेदेखि २६ गतेसम्मलाई निषेधाज्ञा गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

झापा कोरोना सङ्क्रमणको संवेदनशील जिल्लामा परेपछि निषेधाज्ञा लागु गरिएको हो । निषेधाज्ञा लागु गर्दै प्रशासन कार्यालयले सार्वजनिक एवम् निजी सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु गरेको छ।

वैशाख १९ गते राती १२ बजेदेखि २६ गतेसम्मलाई सवारी साधनमा जोर बिजोर लागु गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार जोर बारका दिन जोर नम्बर र बिजोर बारका दिन बिजोर नम्बरका सवारी मात्र चलाउन पाइने छ ।

औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल बाहेकका अन्य पसल बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने छ । डिपार्टमेन्टहरू ६ देखि ११ बजेसम्म मात्रै खुला गर्न पाइने निर्णय भएको छ ।

प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । कुनै भेला, सभा सम्मेलन गर्न पाइने छैन । हाट बजार नलगाउने, १० वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिकालाई घर बाहिर आवतजावत गर्न नदिने निर्णय गरिएको छ ।

कार्यालयहरू सञ्चालनको सन्दर्भमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, बिमा एवम् राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले कार्यालयको अवस्था र कर्मचारीको स्वास्थ्य हरेर माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा वा अत्यावश्यक सेवा बाहेक अन्य सेवालाई स्थगित गर्ने निर्णय भएको छ ।

सेमिनार, पार्टी प्यालेस, सिनेमा हल, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय र चिडियाखानहरुको सञ्चालनमा रोक लगाइएको छ । एम्बुलेन्स, खानेपानी, तरकारी तथा फलफूल, दूधका गाडी, मासु बोकेका गाडी, बैङ्क, दूरसञ्चार, फोहोर मैला, इन्टरनेट, रेडक्रस लगायतका सवारी सञ्चालन गर्न पाइनेछ ।

होटेल, रेष्टुरेन्टहरुले स्वास्थ्य मापदण्ड पालना गरी बेलुका ८ बजेसम्म मात्रै खुला गर्न पाउने छन् । विवाहमा २५ जना र अन्तर जिल्लाका लागि ७ जना मात्र जान पाउने छन् । जिल्लाको काँकडभिट्टा र खजुरगाँछी नाकाबाट सरकारको मापदण्ड पुरा गरेर आवतजावत गर्न पाइने अन्य नाका निषेध गरिने भएको छ।

निषेधाज्ञाको पालना नगरी अवज्ञा गरेमा सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही हुने बताइएको छ ।

jhapal-nisedha-1

jhapa-nised-2

jhapa-nised-3