इटहरी : नेकपा एमाले सुनसरीमा विवाद चुलिएको छ। केन्द्र देखी नै दुई खेमामा विभाजन भएको एमाले फुटको सङ्घारमै पुगेको जस्तो देखिन्छ। त्यसैको प्रतिकात्मक स्वरूप सुनसरीमा देखा परेको हो ।

हालको संस्थापन पक्ष मानिएको केपी शर्मा ओली समूह र माधव नेपाल समूह बिचको विवादले सुनसरीमा कारबाही र बचाउको नयाँ अभ्यास सुरु भएको छ। ओली समूहका अध्यक्ष रेवतिमरण भण्डारी र अर्का अध्यक्ष रमेश बस्नेत नेतृत्वको कमिटी बिच जनप्रतिनिधिलाई स्पष्टीकरण माग गर्ने र बचाउ गर्ने होडबाजी चलेको छ ।

संस्थापन इतर समूहका निर्वाचित जनप्रतिनिधिलाई केन्द्रित गरी स्पष्टीकरण माग गरिएको हो। 
गत बिहीबार ओली समूहका अध्यक्ष रेवतिमरण भण्डारीले सुनसरीका ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण माग गरे। जसमा बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगर, रामधुनी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष डेगराज फुयाँल, धरान-१५ का वडाध्यक्ष नरेश इवाराम, इनरुवा ३ का वडा सदस्य सरोज बराल र इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य गौरीमान परियार परेका छन् ।

सूर्य चिन्हबाट चुनाव लडेर पार्टीको निर्देशन बिना कमिटी गठन गर्दै हिँडेको भन्दै स्पष्टीकरण माग गरिएको हो । राजनैतिक दल सम्बन्धी ऐन २०७३ र पार्टीको विधान बमोजिम कारबाही किन नगर्ने भनी स्पष्टीकरण माग गरिएको भण्डारीले बताए। 

३ दिन भित्र चित्तबुझ्दो जवाफ पठाउन भन्दै पत्र मार्फत जानकारी गराइएको थियो। आइतबार बिहान सम्म पनि कुनै जवाफ नआए कारबाहीको लागी केन्द्रमा सिफारिस गरिने अध्यक्ष भण्डारीले जानकारी दिए । त्यसपछि दल त्याग गरेको मानिने र सोही अनुसार अगाडी बढ्ने उनले बताए।

भण्डारी अध्यक्ष भएको समूहले गरेको स्पष्टीकरणको मागलाई अर्का अध्यक्ष बस्नेतले कारबाही गर्ने र स्पष्टीकरण सोध्ने काम आधिकारिक कमिटि मात्र हुनसक्ने भन्दै विज्ञप्ति निकालेका छन्। भण्डारी पार्टीको पूर्व अध्यक्ष मात्र रहेको र हालको अध्यक्ष आफ मात्र भएको प्रस्ट पार्दै उनले स्पष्टीकरण माग्ने कुनै आधार नभएको बताएका हुन् ।

शुक्रवार एक विज्ञप्ति मार्फत उनले अनधिकृत कमिटीले बन्द कोठामा बसेर षड्यन्त्रपूर्वक ढङ्गले गरेका निर्णयको घोर भर्त्सना गर्ने बताएका छन् । आफूलाई दिएको जिम्मेबारी कुशलता पूर्वक सम्पन्न गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

उता जनप्रतिनिधि भने आफूहरूलाई अहिलेसम्म कुनै पनि जानकारी नआएको बताउँछन् । रामधुनी-५ का वडाध्यक्ष फुयाँल अनुसार अहिलेसम्म कुनै पनि सुचना प्राप्त नभएकाले जवाफ दिइरहन नपर्ने तर्क गर्छन् ।

जेठ २ गतेको निर्णयले जसरी ओली पार्टी अध्यक्ष भए त्यसै गरी बस्नेत पनि सुनसरी पार्टी अध्यक्ष भएको उनको दाबी छ।

UML-Ramesh