धरान : प्रदेश १ को छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ ।

झापाको कचनकबल–२ बस्ने ७३ बर्षीया गङ्गादेवी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्विच थिच्दा एक्कासि गङ्गादेवीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै सुनसरीको गढी-२ औरावनी बस्ने ६० वर्षीय रघुनाथ यादवको चट्याङले लागेर मृत्यु भएको छ । आज बिहान ०८ बजे खेतमा भैँसी चराउन गएका यादवलाई वर्षा सँगै आएको चट्याङले लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी मोरङको ग्रामथान-५ बस्ने ३५ वर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो पौने १ बजे ग्रामथान-२ मा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक माझी गम्भीर घाइते भएकोमा उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर र चालक सुनसरी बर्जू-५ का जय नारायण चौधरी प्रहरी नियन्त्रणमा रहेका छन् ।

यसै गरी झापा बिर्तामोड-४ का २० वर्षीय सन्दीप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको छ । आज दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोलमा मे १ त ७००५ नम्बरको ट्र्याक्टर बालुवा अनलोड गर्नको लागी ब्याक गर्ने क्रममा ट्र्याक्टरको डाला पल्टिदा ट्र्याक्टरमा रहेका सह चालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्र्याक्टर र चालक सोही स्थानका अनिल खड्का प्रहरी नियन्त्रणमा रहेका छन् ।