इनरुवा : सुनसरी सदरमुकाम इनरुवा ३ स्थित महेन्द्र चौक क्षेत्रमा कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भए पछि सो क्षेत्रलाई सुनसरी प्रशासनले सिल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु हुनुका साथै परिवारका अन्य सदस्यहरू समेत सङ्क्रमित देखिएकाले सो क्षेत्रमा सिल गरिएको बताए ।

युके भेरियन्टको कोरोना सङ्क्रमणबाट तिन दिनको फरकमा आमा छोराको मृत्यु भए पछि कहाँ बाट सङ्क्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङबाट पत्ता नलागेपछि महेन्द्रचौक क्षेत्र अति संवेदनशील देखिएकाले उच्च सङ्क्रमणको जोखिम भएको स्थान आसपास अर्को आदेश नभए सम्मका लागी सिल गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहता सहित नगर प्रहरीको टोली सो क्षेत्रमा पुगी सिल गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

सङ्क्रमित परिवारमा तीन दिन अघि आमाको होम आइसोलेसनमा रहेकै अवस्थामा मृत्यु भएको थियो भने छोराको विराटनगर स्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना सङ्क्रमितकै कारण इनरुवाको एक व्यापारीको पनि कोशी कोभिड अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो । पछिल्लो एक साता यता इनरुवामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेर सय भन्दा बढी पुगेको छ ।

Suchana-cdo