विराटनगर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले निरङ्कुशता अन्त्य गर्न स्थापित भएको पार्टीभित्रको निरङ्कुशता स्वीकार गर्न नसकिने बताएका छन्।

शनिवार विराटनगरस्थित कोइराला निवासमा पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै कोइरालाले भने,“नेपाली काँग्रेस निरङ्कुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी हो । त्यसैले पार्टीभित्रको निरङ्कुशता पनि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।” उनले लोकतन्त्रको जगेर्ना नै काँग्रेसले गर्ने हो भन्ने विश्वास जनतामा आएको र अब देशलाई केही गर्न सक्छ भने काँग्रेसले नै गर्ने बताए ।

राजनीति राजधानीको रूपमा मोरङको साख फर्कनु पर्छ भन्ने आवश्यकता महसुस हुन थालेको बताउँदै उनले यो विचार काठमाडौँको पनि आवाज बन्ने दाबी गरे । कोइरालाले भने,“अब मोरङको साख फर्कने छ भन्ने मेरो विश्वास छ ।”

त्यस अवसरमा संस्थागत विद्यालय महासङ्घ (प्याब्सन) का पूर्व मोरङ अध्यक्ष एवं केन्द्रीय सदस्य वासुदेव न्यौपाने, एनप्याब्सन राजन छाराहाङ,  विवेकशील साझा पार्टीका नेता राजेश कर्ण, एनप्याब्सनका मोरङ कोषाध्यक्ष इन्द्र नारायण साहलगायत काँग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीको तर्फबाट बोल्दै छाराहाङले अबको देशको राजनीतिक परिवेशलाई निकास काँग्रेसले मात्र दिन सक्ने बुझेरै पार्टीमा आएको सुनाए ।

Congress-prabesh-1

नेपाली काँग्रेस विराटनगर महानगर समितिका सभापति तथा मेयर भीम पराजुलीले काँग्रेसको लोकतान्त्रिक सिद्धान्तलाई आत्मसात् गर्दै देशका विद्यमान समस्यालाई निकास दिइनुपर्ने बताए । भने,“अबको राजनीतिक निकास र देशको विकासको लागि काङ्ग्रेसबाट मात्र सम्भव छ ।”

काँग्रेस १ नम्बर प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अहिले स्वार्थको राजनीतिक अधिक बढेकोले सिद्धान्तको महत्व झन् चुलिएर गएको बताए । भने,“पार्टीमा गई चाँडै फाइदा लिइहाल्छु भन्दा पनि योगदान दिन सक्छु भन्ने नेतृत्वको सबैतिर खड्किएको छ ।”

कार्कीले  पार्टीलाई जीवित राख्न सिद्धान्तलाई लिएर अघि बढ्नु पर्ने बेला आएको बताए।