धरान : सुनसरी जिल्लामा कोरोना सङ्क्रमण दर बढ्न थालेको भन्दै हिजो देखि लागु गरिएको निषेधाज्ञाको अवज्ञा सर्वसाधारणबाट बढेको पाइए पछि आज देखि धरानमा निषेधाज्ञालाई कडाइका साथ लागु गर्ने धरान प्रहरीले जनाएको छ ।

निषेधाज्ञामा सर्वसाधारणलाई समस्या नहोस् भनेर बिहान ११ बजे सम्म केही खुकुलो गरिएको भए पनि आज देखि अनावश्यकरुपमा हिँडडुल गर्नेलाई प्रहरीले स्थलगतरुपमा नियन्त्रणमा लिएर राख्ने सम्मको योजना बनाएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

निजी सवारी साधनहरू पनि अनावश्यकरुपमा चलाइएको पाइएकोले जोर बिजोर प्रणाली लागु गरे पनि यसको कार्यान्वयन अझै हुन नसकेकोले आज देखि यसमा कडाइ गर्ने बताइएको छ ।

घर बाहिर निस्किएका १० वर्ष देखि मुनिका बालबालिका र ६० वर्ष देखि माथिका वृद्ध बृद्धाहरुलाई हिजो पहिलो दिन सम्झाएर घर पटाइएकोमा अव देखि त्यसो नगर्न अभिभावकहरूलाई प्रहरीले अनुरोध पनि गरेको छ ।

सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरे मात्रै कोरोना नियन्त्रण हुने र सङ्क्रमण नहुने प्रहरीले बताउँदै सबैलाई सचेत र सजग रहन आव्हान समेत गरिएको छ ।