धरान : धरान उपमहानगरपालिका अन्तर्गतको धरान १३ नम्बर वडा कार्यालय परिसरमा बनेको वृद्ध तथा बालबालिका भवनको आज विधिवत् उद्घाटन भएको छ ।

धरान उपमहानगर पालिकाका नगर प्रमुख तिलक राईको प्रमुख आतिथ्यमा भएको उक्त भवन १४ लाख लागतमा तयार भएको वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए । बालमैत्री घोषणाको नगद ५ लाख र सामाजिक विकासको ४ लाख ८० हजार र ४ लाख २० हजार स्थानीय बासिन्दा समाजसेवीको सहयोग लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।

आधारभूत स्वास्थ्य चौकी भवन , सभा हल पश्चात् ज्येष्ठ नागरिक र बालबालिकाको लागि समेत भवन निर्माण गरिएको र वडामा आवश्यकता अनुसारको काम गर्दै जाने वडा अध्यक्षले बताए । भवनमा सहयोग गर्ने व्यक्तिहरूलाई प्रसंशापत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर तिलक राईले वडाका नागरिकले वडाको स्थानीय सरकार भएको महसुस गर्ने बताउँदै आगामी दिनमा समेत आफ्नो तर्फबाट गर्ने सबै खालको सहयोग रहने बताए । हाल सुकुम्वासीको फारम भर्ने कार्य पनि कोरोनालाई मध्यनजर गर्दै घर घरमा गएर लागत सङ्कलन गर्न अनुरोध गरे ।

मेयर राईले वडाको र नगरको विकासका लागि यहाँका जनताको भावना अनुसार जनप्रतिनिधिले काम गरेको छौ भन्दै आगामी दिनमा पनि यसरी नै जनचाहना अनुसार काम गर्ने बताए ।

वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको सभापतित्वमा भएको कार्यक्रम नगरप्रमुख तिलक राई, पूर्व वडाध्यक्ष हरिहरप्यारा श्रेष्ठ र हर्कबहादुर कटुवाल , वडा बाल सञ्जालका अध्यक्ष विनोद काफ्लेले लगायतको सहभागिता रहेको थियो ।

Untitled-1