धरान : मोरङको रतुवामाई नगरपालिका ९ स्थित आमबारी–उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

आज बिहान साढे १० बजे उत्तर तर्फ आउँदै गरेको प्र.१-०२-०४१ प. २६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०४४ प.२६०९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा गम्भीर घाइते भएका २६६४ नम्बरको मोटरसाइकल चालक रतुवामाई नगरपालिका ७ गढिझार का २७ वर्षीय ललित कटवालको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाइकल चालक रंगेली नगरपालिका ५ का २१ वर्षीय मनजय ठाकुर र सोही मोटर साइकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० वर्षीय नवीन ठाकुर घाइते भई सोही अस्पतालमानै उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।