धरान : धरानको भानु चौक वरपरका पोलका अव्यवस्थित तारहरू व्यवस्थित गरिँदै छ ।

नेपाल विद्युत प्राधिकरण धरान, घण्टाघर सडक निर्माण उपभोक्ता समिति, २ नंं वडा कार्यालय र केवल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरूको सहकार्यमा उक्त कार्य भएको हो ।

पहिलो चरणमा भानु चौक क्षत्रेका पोलका अव्यवस्थित तारहरू व्यवस्थापन गरेपछि क्रमशः धरानको मुख्य क्षेत्रहरूको तारहरू पनि व्यवस्थापन गरिने समितिका अध्यक्ष रमेश राईले बताए ।

पोलहरूमा अव्यवस्थित रूपमा लत्रिएको र झुन्डिएको तारहरूका कारण बाँदर र ठुला सवारी साधनहरूले चुटाउने हुँदा दुर्घटना समेत हुने गरेको छ ।

यसरी अव्यवस्थित तारहरूका कारण विद्युत प्राधिकरण, टेलिकम अफिस र टिभी इन्टरनेट सेवा प्रदायकलाई समेत सेवा प्रवाह गर्न समस्या भएको थियो । यसमा आवश्यक सहयोग र अगुवाइ गर्न नेपाल विद्युत प्राधिकरण धरानको तर्फबाट तत्पर रहेको प्रमुख इन्जिनियर प्रताप बरालले बताए ।

धरानको देशीलाईन सडकको दुबै तर्फ पोलहरू राखिएकोले कुनै पनि तारहरू सडक क्रस गर्न नदिने गरी व्यवस्था गर्ने योजना रहेको धरान २ नं. वडा सदस्य धर्म तामाङले बताए ।