धरान : सुनसरी भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत कर्मचारीले भुमाफीया सँग मिली कार्यालयमा भएका सम्बन्धित कागजपत्र बेपता पार्ने र नष्ट गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।

सुनसरीको इनरुवा कार्यालयका कर्मचारीहरू मनपरी ढङ्गले अगाडी बढेको आरोप सेवाग्राहीले लगाएका छन्।

कार्यालय प्रमुख षड कुमार पोखरेलले पनि कार्यालय सुधारमा कुनै चासो नदिएको इनरुवाका सञ्जय श्रेष्ठले बताए । आफूहरू बारम्बार गएर गुनासो गर्दासमेत सुनुवाइ नभएको उनको भनाई छ।

उनका अनुसार पैसाको प्रलोभनमा परी कार्यालयका कर्मचारीले दुःख दिने गरेका छन् । गैर कानुनी तवर बाट मोही व्युत्याउने र भुमाफीयाको पक्षमा लाग्ने काम भइरहेको उनको भनाई छ ।

अर्का सेवाग्राहीले नाम नबताउने सर्तमा मालपोत कार्यालयका हाकिम पोखरेलले बारम्बार दुःख दिने गरेको बताए ।

उद्योगीहरूलाई सताउने र भुमाफीयालाई संरक्षण गर्ने काममा पोखरेल खुलेर लागेको उनले गुनासो गरे ।  मुद्दा किनेर मुद्दा व्युत्याउने काममा शम्भु सुवेदी लगायत कर्मचारीहरू लागी परेको उनले बताए ।

उता कार्यालय प्रमुख पोखरेल सँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।