धरान : जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका गणेश बहादुर अधिकारी भन्ने लेक बहादुर अधिकारीलाई घटना घटेको १० वर्षपछि प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सङ्खुवासभा साबिक खराङ गाविस-२ घर भई हाल चैनपुर नगरपालिका-१० स्थायी घर भएका वर्ष ४३ वर्षीय अधिकारीलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले सुनसरीको खनारबाट पक्राउ गरेको चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार जिल्ला अदालत सङ्खुवासभाले १३ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा २०७२ साल माघ १८ गते अधिकारीलाई १२ वर्ष कैद सजाय तोकेको थियो।

अधिकारीले २०६८ साल माघ १२ गते १३ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए। १० वर्ष देखी फरार सूचीमा रहेका अधिकारीलाई प्रहरीले लामो समय देखी खोजी गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार १७ गते पक्राउ परि आएका प्रतिवादी गणेश बहादुर अधिकारीलाई इलाका प्रहरी कार्यालय चैनपुरले वैशाख १९ गते सङ्खुवासभा जिल्ला अदालतमा पेस गरे पश्चात् अधिकारीलाई अदालतले कारागार चलान गरेको छ।