धरान : धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सहित आज धरानमा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

केही दिन अघि उपमेयर भण्डारीका स्वकिय सचिवको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि उपमेयरको पनि एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।

आज पुनः पिसिआर परीक्षण गर्दा उपमेयर भण्डारीको रिपोर्ट कोरोना पोजेटिभ आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

उपमेयर सहित पिसिआर परीक्षणबाट २४ जना र ३५ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । यो सँगै धरानमा वैशाख यता मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ३५ पुगेको छ भने १ जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकामा आइतबार, मंगलबार र बिहीबार हप्ताको ३ दिन कन्ट्रयाक ट्रेसिङका र लक्षण देखिएकाहरूलाई निःशुल्क पिसिआर परीक्षण गरिँदै आएको पनि स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रदेश १ मा आज ४१७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, तेह्रथुममा ५, सङ्खुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ३३४ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार ६५ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ७६९ पुगेको छ ।

प्रदेश १ मा आज ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७० महिला र २४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।