इटहरी : नेकपा एमाले इटहरी उपमहानगर वडा नम्बर ४ कमिटीले सचेतना अभियान चलाएको छ ।

एमाले पार्टी वडाध्यक्ष सुनिल कार्कीको अगुवाइमा कोरोनाबाट बच्ने उपाय र सावधानीका तरीका बारे जानकारी गराइएको हो । कोरोनाबाट बच्ने उपाय तथा सङ्क्रमितले अपनाउनुपर्ने सावधानीको बारेमा व्यानर नै बनाएर अभियान चलाइएको हो ।

वडा नम्बर ४ भरी सञ्चालन गरिने अभियानमा स्थानीयलाई मास्क तथा सेनीटाइजर वितरण गरी लगाउने तरिका समेत सिकाइएको छ। आइतबार सुरु भएको अभियान अबको केही दिन सञ्चालन गरिने अध्यक्ष कार्कीले बताए । उनका अनुसार पछिल्लो समय देखा परेको नयाँ भेरीयन्ट अत्यन्तै गम्भीर प्रकृतिको भएकाले आफू बच्ने र अरूलाई पनि बचाउने हिसाबमा अभियान चलाइएको हो ।

नगर अध्यक्ष यामकुमार सुब्बाको उपस्थितिमा सञ्चालित अभियानमा आइतबार मात्र २ सय जनालाई जानकारी गराइएको छ । राजनैतिक पार्टी जनताको दुःख सुखको साथी भएकोले हरहमेसा जनतासँगै हुनुपर्ने सुब्बाको तर्क छ । जनताको साथमा पार्टी भएन भने भोलि जनताले पनि पार्टीको साथ छाड्ने उनको भनाई छ ।