धरान : जिल्ला प्रहरी कार्यालय धनकुटाले धरानका एक युवालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

वैशाख १८ गते मदनचौक स्थित धनकुटा बसपार्कमा खटिएको प्रहरी टोलीले शङ्का लागि चेक गर्दा धरान-१९ सगरमाथा चौक बस्ने २३ वर्षीय भीमराज लिम्बु लागुऔषध सहित पक्राउ परेको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए ।

लिम्बुले बोकेको कालो रङ्गको झोला चेक गर्ने क्रममा झोलाबाट सिरिन्ज-४ पिस, मुस्ताङ बियर-२ बोटल, एभिल-४४ एम्पुल, लुपिजेसिक-३८ एम्पुल, डाइजेल्याब-४८ एम्पुल गरी जम्मा १३० थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

लिम्बुलाई थप अनुसन्धान गर्दा अन्य व्यक्तिको पनि संलग्नता रहेको खुलेको पछि धनकुटा बस्ने २३ वर्षीय रुपेश मर्क २९ वर्षीय प्रवीण भनिने हरि सुन्दर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जनकारी दिए।

हरीको घर खानतलासी गर्दा कोठाबाट एभिल-२० एम्पुल, लुपिजेसिक-२० एम्पुल, डाईजेल्याब-२० एम्पुल र प्रोमेथाजिन–२० एम्पुल गरी जम्मा–८० एम्पुल लागुऔषध बरामद भएको रेग्मीले बताए ।

जिल्ला अदालत धनकुटाबाट पक्राउ परेका तिनै जनालाई ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको धनकुटा प्रहरीले जनाएको छ ।