धरान : कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको र पछिल्लो समयमा छिमेकी मुलुक भारत लगायत नेपालमै पनि अत्यन्तै महामारीको रूपमा यसले अकल्पनीय रूपमा मानवीय क्षति भइरहेको भन्दै धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले कोरोनाको सङ्क्रमण विरुद्धमा सचेत र सजग रहन आम नगरवासीलाई आग्रह गरेका छन् ।

नगर प्रमुख राईद्वारा जारी अपिलमा भनिएको छ, ‘कोरोना सङ्क्रमणको अति उच्च जोखिमको क्षेत्रमा समेत परेको धरानमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको र १ जनाको मृत्यु समेत भइसकेको छ। कोरोनाबाट बच्नका लागि हालै जिल्ला प्रशासन कार्यालय सुनसरीले लागु गरेको एक साताको निषेधाज्ञा पूर्ण रूपमा पालना गर्न र गराउन सम्पूर्ण नगरवासीलाई अनुरोध गर्दछु ।

बालक र वृद्धहरूले घरमै बस्ने र अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नका साथै साबुन पानीको प्रयोग गरी पटक पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन अनुरोध गर्दछु ।’

उनले निषेधाज्ञाको बेलामा कुनै पनि सार्वजनिक स्थान र स्थलहरूमा भिडभाड भएको देखेमा आफैले सो भिडभाड हुन नदिने र प्रहरी प्रशासनलाई जानकारी गराउन पनि अनुरोध गर्नु भएको छ । साथै नगरवासीमा कोभिड सम्बन्धी कुनै लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न समेत नगर प्रमुख राईले आग्रह गरेका छन् । 

‘सम्पूर्ण नगरवासीहरू सबै स्वस्थ र सुरक्षित रहौँ सबै मिलेर विश्वमा महामारीको रूपमा फैलिएको यो कोभिडबाट धरान नगरीलाई जोगाउ र यसका निम्ति सबैले आ–आफ्नो स्थानबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनुहुन समेत अनुरोध गर्दछु,’ अपिलमा भनिएको छ । 

Appeal-Mayor---Final