धरान : गएको वर्ष उदयपुरमा कोरोना सङ्क्रमित भेटिएपछि धरान चतरा सडक बन्द गरेर कोरोना सङ्क्रमणको उच्च सतर्कता अपनाएको धरान उपमहानगरपालिका यस पटक चुपचाप जस्तै छ ।

धरान उपमहानगरपालिकामा गतबर्ष ३५ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ७६ जनाको मृत्यु भएको थियो । धरानमा यस पटक पनि वैशाख यता मात्रै अहिले सम्म २ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु समेत भइसकेको छ ।

धरानमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय नाघी सक्दा सम्म पनि अहिले सम्म धरान उपमहानगरपालिका आफैले न क्वारेनटाइन तयार गरेको छ न त आइसोलेसनै । गत वर्ष धरान उपमहानगरपालिका अत्यन्तै सजग र सचेत रहँदा रहँदै पनि सुनसरी जिल्लाका अरू पालिकाको तुलनामा धेरैमा कोरोना सङ्क्रमण भयो र धेरैको मृत्यु भयो ।

तर यस पटक भने धरान उपमहानगरपालिका जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञामै चुप बसेको छ । अरू तिरका स्थानीय निकायहरूले आफै क्वारेनटाइन र आइसोलेसन सञ्चालन सुरु गरिसकेको अवस्थामा धरानमा भने यसबारेमा सोच मात्रै बनाएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए । मेयर राईले भने,–धरानमा आइसोलेसन र क्वारेनटाइनको बारेमा छलफल गरेर चाडै सञ्चालनमा ल्याउँछौ ।

गत वर्ष सङ्क्रमण हुने बित्तिकै आइसोलेसनमा लानुपर्ने हुन्थ्यो । तर यस पटक सङ्क्रमित भएर पनि होम आइसोलेसनमै बस्न सरकारको प्राथमिकता रहेकोले पनि धरान उपमहानगरपालिकामा आइसोलेसन र क्वारेनटाइन सञ्चालनमा ढिलो भएको बताइएको छ ।

धरानमा अहिले कोरोनाका सक्रिय सङ्क्रमित २ सय बढी छन् भने १२,१३ जना मात्रै अस्पतालमा भर्ना भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

उनका अनुसार अहिले धरान उपमहानगरपालिकाले धरानमा समुदाय स्तरमा कोरोना सङ्क्रमण भयो भने कन्ट्रयाक ट्रेसिङकाहरु र लक्षण देखिएकाहरूलाई हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार एन्टिजेन र पिसिआर परीक्षणका लागि नमुना सङ्कलन गर्दै आएको छ । सबै परीक्षण निःशुल्क गरिरहेको छ ।

धरान उपमहानगरपालिका गत वर्षको तुलनामा कोरोना नियन्त्रण र न्यूनीकरणमा निकै फितलो तयारी देखिएको छ ।

गत वर्ष निकै सक्रिय भएर कोरोना नियन्त्रण र न्यूनीकरणमा लागेको धरान उपमहानगरपालिकाले अहिले सम्म क्वारेनटाइन र आइसोलेसन सञ्चालन नगर्नु धरानमै रहेको बीपीको भर परेको देखिन्छ ।