धरान : मोरङको रतुवामाईमा मृत अवस्थामा एक महिलाको शव भेटिएको छ ।

मृत भेटिएको महिलाको हत्या गरेर फालिएको मोरङ प्रहरीले निष्कर्ष निकालेको छ । आइतबार बिहान स्थानीय रामप्रसाद भण्डारीको मकै बारीमा महिलाको शव भेटिएको थियो । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्या गरी शव फालेको निष्कर्ष निकालेको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने ‘ प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भएको देखिन्छ, बलात्कार भए नभएको पोस्टमार्टम पछि खुल्छ ।’

शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर पठाएको प्रहरीको भनाई छ । महिलाले लगाएको कपडा च्यातिएको र माथि सुर्किएका कारण बलात्कार भएको हुनसक्ने प्रहरीको दाबी छ ।

आइतबार बिहान रतुवामाई–६ स्थित सिंहगिरी भन्ने स्थानमा महिलाको शव फेला परेको थियो । अन्दाजी ३० वर्षीय कालो वर्णकी महिलाले पहेँलो कुर्ता र कालो रङ्को टाउजर लगाएकी छन् । पहिचान नखुल्दा थप अनुसन्धानमा समस्या भएको प्रहरीले बताएको छ ।

स्थानीय रामप्रसादले घाँस काट्न मकै बारीमा जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको पहिचान खुलेपछि सबै विषय खुल्ने प्रहरी बताउँछन् ।