धरान : धरानको सर्दु खोलामा खानेपानीको उत्पादन बढाउन मुहानको मर्मत कार्य सुरु भएको छ ।

खानेपानीको उत्पादन बढाउन तथा वितरणमा सहजीकरण गर्नुका साथै सफा खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी व्यवस्थापन बोर्डले मर्मत कार्य सुरु गरेको हो ।

आइतबार बोर्डका अध्यक्ष समेत रहेका नगर प्रमुख तिलक राई उक्त क्षेत्रमा स्थलगत अनुगमन गर्न पुगेका थिए । बोर्डका निर्देशक राजु पोख्रेलका अनुसार अहिले ३० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ । एक हप्ताभित्रमा काम सकिने जानकारी उनले दिए ।

‘बर्खा याममा सर्दुको पानी फोहोर आउने, पानी पर्न थालेपछि धमिलो आउने, धेरै फोहोर आयो भने फिल्टर प्लान्टहरूले पनि काम नगर्ने,’ पोख्रेलले बताए । ‘सर्दुको मुहानमा एकातिरबाट सफा पानी आउँछ, अर्कातिरबाट बर्खा याममा अलि फोहोर पानी आउँछ ।

’ सफा पानी आउने तिर एक वटा जम्मा गर्ने ट्याङ्की निर्माण गरिनेछ । पाइपलाइन ल्याएर इन्टेकमा झार्नको लागि अहिले काम सुरु गरिसकेको उनले बताए । सर्दुको मुहान क्षेत्रमा पाइपलाइन सबै पुर्याईसकिएको छ ।

अहिले तुरुन्तै गरियो भने पनि सर्दुको पानीको मात्रा बढाउन सकिने बताउँदै पोख्रेलले भने, ‘बर्खामा फोहोर पानी आउने समस्याबाट धेरै हदसम्म पार पाइन्छ ।’ अनुगमनको क्रममा नगर प्रमुख राईले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

‘स्थलगत निरीक्षण गर्दा काम अहिलेसम्म सन्तोषजनक रूपमा भइरहेको पाइयो, नगर प्रमुख ज्यूले कामको अनुगमन पनि गर्नुभयो र छिटो सक्नको लागि निर्देशन पनि दिनुभयो,’ निर्देशक पोखरेलले भने ।

सर्दुको मुहान क्षेत्रमै बसेर कामदारहरूले अहिले बिहानदेखि नै काम गरिरहेका छन् । पाईपलाईनको कामसँगै खोलाको छेउछेउमा ग्याबिनहरु राखेर मेशिनरी वालहरू पनि बनाइने भएको छ ।

खानेपानीलाई नियन्त्रण गर्नका लागि सर्दु खोलामा संरक्षण कार्य गर्नुपर्ने बोर्डले जनाएको छ । सर्दुमा ठुलो बाढी आएको बेलामा खानेपानी फिल्टर गर्न सकिँदैन । ७ सय टिएसएस भन्दा बढी फिल्टर गर्न नसकिने बोर्डको भनाई छ ।