वराहक्षेत्र : नेपाली काँग्रेस वराहक्षेत्र नगर कार्यसमिति सभापति नारायण प्रसाद नेपालले कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको र पछिल्लो समयमा छिमेकी मुलुक भारत लगायत नेपालमै पनि अत्यन्तै महामारीको रूपमा अकल्पनीय मानवीय क्षति भइरहेकोले बेलैमा कोरोनाको सङ्क्रमण विरुद्धमा सचेत र सजग रहन आम नगरवासीलाई आग्रह गरेका छन् ।

वराहक्षेत्र नगरपालिकाका कर्मचारी सहित धेरैलाई कोभिडको सङ्क्रमण पुष्टि भएको र वराहक्षेत्र नगरपालिकासँग जोडिएको स्थानीय तहहरूमा कोरोना सङ्क्रमणको दर अति उच्च देखिएको हुनाले नगरवासीलाई सचेत र सजग रहन उनले आव्हान गरेका हुन।

सभापति नेपालले सामाजिक सञ्चालन फेसबुक मार्फत नगरवासीहरूमा आग्रह गर्दै कोरोनाबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले लागू गरेको एक साताको निषेधाज्ञा पूर्ण रूपमा पालना गर्न र गराउन सम्पूर्ण नगरवासीलाई अनुरोध गरेका छन्।

उनी भन्छन् 'बालक र वृद्धहरूले घरमै बस्ने र अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नका साथै साबुन पानीको प्रयोग गरी पटक पटक हात धुन तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन अनुरोध गर्दछु ।'

सभापति नेपालले निषेधाज्ञाको बेलामा कुनै पनि सार्वजनिक स्थान र स्थलहरूमा भिडभाड भएको देखेमा आफैँले सो भिडभाड हुन नदिने र प्रहरी प्रशासनलाई जानकारी गराउन पनि अनुरोध गरेका छन् । साथै निषेधाज्ञा लम्बिएका मजदुर, निम्न आय भएका कामदारहरूलाई राहतको प्याकेज ल्याउन स्थानीय सरकार सँग माग समेत गरेका छन् ।