धरान : धरान उपमहानगरपालिकामा आज उपमहानगरपालिकाका ३ जना कर्मचारी सहित ७७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७७ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणबाट ५५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको प्रमुख मेहेताले जानकारी दिए । मंगलबार एकै दिन धरानमा ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै धरानमा वैशाख यता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ सय ५७ पुगेको छ । कोरोना सङ्क्रमित हुनेमा धरान उपमहानगरपालिकाको २ जना चालक र एक जना कार्यालय सहयोगी रहेको बताइएको छ ।

धरानमा पछिल्लो समय समुदाय स्तरमा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । २१ दिनको अवधिमा धरान उपमहानगरपालिकामा मात्रै ३५७ जनामा सङ्क्रमण देखिनु र अहिले सम्म २ जनाको मृत्यु हुनुले धरान पनि कोरोना सङ्क्रमणबाट भयावह उन्मुख भएको स्वास्थ्य विज्ञहरूको भनाई छ ।

यसका लागि स्थानीय सरकार मात्रै होइन समुदाय आफै सचेत र सजग हुन अत्यन्तै जरुरी भएको छ ।