धरान  : धरानका मेयर तिलक राईको नेतृत्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड-१९ सम्बन्धी भइरहेका कार्यहरू र गर्नुपर्ने सुधारको बारेमा प्रतिष्ठानको पधिकारीहरुसँग छलफल भएको छ।

धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको कारण मेयर राईको नेतृत्वमा धरानमा र प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा भइरहेको विषयमा मङ्गलवार छलफल गरेको हो।

छलफलमा इलाका प्रशासन प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि, प्रतिष्ठानका उपकुलपति, अस्पताल निर्देशक र रेक्टरको उपस्थिति रहेको थियो। कोभिड अस्पतालको बारेमा जनगुनासो आएपछि यसको समस्या समाधान गर्नका लागि मेयरको नेतृत्वमा छलफल बसेको हो ।

कोभिडलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय सरकार, केन्द्रीय सरकार, प्रदेश सरकार, राजनीतिक दल र नागरिक सबै लाग्नुपर्छ । दिनानुदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका छन् ।

अस्पतालमा बेड वृद्धि गर्ने कुरामा, कर्मचारी नियुक्ति गर्नुपर्ने कुरामा अस्पतालले पूर्व तयारी गर्नुपर्ने सुझाव दिएका छन् । यदि बेलैमा त्यसो भएन भने भोलिको दिनमा भयावह स्थिति आउन सक्ने बताए । तत्काल कोभिडको लागि आवश्यक पूर्वाधारहरू व्यवस्थापन गर्न सक्यो भने केही मात्रामा रोकथाम तथा नियन्त्रण गर्न सकिने जनाए ।

प्रतिष्ठानले अस्पतालमा भएका समस्याहरूको बारेमा स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक रहेको राजनीतिक दलका प्रतिनिधिहरूले औँल्याए । कोभिड अस्पताल एक सय बेड क्षमताको रहेको छ । अस्पताल राम्रोसँग सञ्चालन नभएको गुनासो आएको प्रति पदाधिकारीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न पनि ध्यानाकर्षण गराएका छन् । साथै सङ्क्रमित बिरामीको उपचार तथा हेरचाहमा पनि ध्यान दिन आग्रह गरेका छन् ।

विगतमा कमीकमजोरीहरू रहेको बताउँदै अहिले सुधारिँदै आएको प्रतिष्ठानका पदाधिकारीहरूले छलफलमा जानकारी गराए थिए । हाल प्रतिष्ठानमा अक्सिजन पर्याप्त रहेको जनाएको छ । आगामी दिनमा प्रतिष्ठानमा अक्सिजनको कमी हुन नदिने भएको छ । अक्सिजन व्यवस्थापन गर्नका लागि व्यापक रूपमा छलफल भइरहेको जनाएको छ ।

प्रतिष्ठानले कोभिड अस्पताल र नन कोभिड अस्पताल पनि चलाइरहेको बताउँदै प्रतिष्ठानको लागि यो ठुलो चुनौती रहेको सुनाए । कोभिड अस्पतालमा हाल २४ वटा भेन्टिलेटर रहेको छलफलमा जानकारी दिएका छन् । प्रत्येक भेन्टिलेटरमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

बिरामीको बारेमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गर्ने दुई तिन जना फोकल पर्सन अस्पतालमा राख्ने प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर शाहले जानकारी दिए ।

discuss-with-VC-2