इटहरी : बिहीबार बिहान इटहरी चौक नजिकै एक व्यक्तिको बेवारिसे शव फेला परेको छ । इलाका प्रहरी कार्यालय देखि ३ सय मिटर टाढा टेङ्ग्रा खोलाको किनारमा शव फेला परेको हो ।

नग्न अवस्थामा भेटिएका मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन केसीका अनुसार सडक आश्रित व्यक्ति जस्तो देखिने व्यक्ति मृत अवस्थामा भेटिएका हुन् ।
सो क्षेत्रमा सडक मानवको बसोबास रहने गरेको उनले बताए । शवको प्रकृति हेर्दा कुटपिटबाट मृत्यु भएको अनुमान गर्न सकिने उनको भनाइ छ ।

३०/३२ वर्षको जस्तो देखिने पुरुषको सनाखत हुन समय लाग्ने भएको छ । कसले र किन हत्या गर्‍यो भन्नेबारे थप अनुसन्धान गरिने डिएसपी केसीले बताए ।