धरान : धरान उपमहानगरपालिकाले आज शोक बिदा दिएको छ ।

धरान वडा नं. १४ निवासी पूर्व प्रधानपञ्च एवं समाजसेवी इन्द्र प्रसाद श्रेष्ठको निधनमा उपमहानगरपालिकाले आज शोक बिदा दिएको हो । श्रेष्ठको हिजो बुधवार उपचारको क्रममा काठमाडौँको ग्राण्डी अस्पतालमा निधन भएको थियो ।

श्रेष्ठको ८० वर्षको उमेरमा हिजो निधन भएको हो । उहाँको श्रीमतीको दश दिन अघि मात्र निधन भएको थियो । श्रेष्ठ महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्राध्यापक पनि हुन भने हाल नेपाली काँग्रेस सुनसरीका सल्लाहकार पनि थिए ।

श्रेष्ठकै अध्यक्षतामा कोरोना महामारीको (बन्दाबन्दीको बेला) समयमा धरानका सडक आश्रित मानिसहरूलाई धरान-८ स्थित लाङ्गाली सामुदायिक वनको भवनमा तिन महिना सम्म निःशुल्क खाना समेत खुवाइएको थियो ।

उनको निधनमा आज धरान उपमहानगरपालिकाले शोक बिदा दिने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार आजका दिन नगर कार्यपालिकाको कार्यालय साथै मातहतका कार्यालयहरू (अत्यावश्यक सेवा बाहेक) शोक बिदा दिएको हो ।

Sok-Bida-Suchana