धरान : इटहरी उपमहानगरले सर्किजल मास्क पाँच रुपियाँ भन्दा बढीमा नबेच्न निर्देशन दिएको छ ।

बिहान बजार अनुगमनका क्रममा दुई देखि तीन रुपियाँमा खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा बढी मूल्यमा नबेच्न निर्देशन हो। जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी,प्रहरी र सञ्चारकर्मी सहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा बेच्ने गरेको पाइएको छ।

अनुगमनका क्रममा मास्क खरिद मूल्य भन्दा पाँच गुणा सम्म बढीमा बेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले जानकारी दिए। पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले त सर्किजल मास्क खरिद गरेको विल समेत देखाएनन्। ९० रुपियाँ खरिद मूल्य रहेको स्यानिटाइजर १ सय ६५ रुपियाँमा बेचेको पाइएको छ ।

राजश्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले तत्काललाई बढी मुनाफा राखेर नबेच्न सचेत गराइएको, सर्किजल मास्क पाँच रुपियाँ भन्दा बढीमा नबेच्न निर्देशन दिइएको बताए । निर्देशन पालना गराउन थप कडाइका साथ अघि वढने भट्टराईले बताए । खरिद मूल्य र अधिकतम विक्री मूल्यको अन्तर धेरै पाइएकाले अव उद्योगमै पुगेर समेत अनुगमन गरिने उनले बताए ।

भट्टराईले भने “सर्वसाधारण मास्क किन्न नसकेर एउटै मास्क धोएर लगाइरहेका छन्,बजारमा यस्तो छ,पाँच रुपियाँमा बेच्दा दोब्बर बढी फाइदा हुन्छ ।” किन पाँच रुपियाँमा नबेच्ने उनले विक्रेताहरूलाई प्रश्न गरे । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपियाँ खरिद मूल्य परेको मास्क १० रुपियाँमा बेच्न नमिल्ने बताए ।

उनले मास्क र स्यानिटाइजरमा बढी मुनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर,जिल्ला प्रशासन र राजश्व कार्यालयको बैठक बसेर तीन दिनभित्रमा रिजल्ट आउने गरी एक्सन गरिने बताए । आजै इटहरी उपमहानगरले हटिया लाइनका थोक सब्जी पसलहरूको समेत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा हटिया लाइनका भाँडा पसलहरू पनि खुल्ला रहेको पाइयो । अनुगमन टोली पुगेपछि हतार हतार बन्द गरेका देखिन्थे । इटहरी उपमहानगरपालिकाले निरन्तर बजार अनुगमन गरिरहेको छ ।