धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आन्दोलित कर्मचारीहरूले चार जना पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

उनीहरूले उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रर, अस्पताल निर्देशक र नर्सिङ मेट्रोको कार्यालयमा पनि तालाबन्दी गरेका छन्।

कोभिड-१९ को कोरोना भत्ता पारदर्शी नभएको र अनुहार हेरेर वितरण गरेको, समानरुपमा वितरण हुनुपर्ने, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशीघ्र एकमुष्ठ रुपमा उपलब्ध गराउनुपर्ने, कर्मचारीहरूको आन्तरिक फायल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीहरूलाई करार गर्नुपर्ने र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नुपर्ने माग राखेर कर्मचारी तदर्थ समिति आन्दोलनमा उत्रिएको समितिका अध्यक्ष राजन प्रसाद कोइरालाले जानकारी दिए।

समितिले वैशाख १४ गते पाँच बुँदे माग राखेर प्रतिष्ठानका पदाधिकारीहरूलाई ज्ञापन पत्र बुझाए पनि बेवास्ता गरेकोले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको तदर्थ समितिका संयोजक राजन प्रसाद कोइरालाले बताए ।

बिहान साढे नौ बजे तालाबन्दी गरिएपछि अहिले उपकुलपतिको कार्यकक्षमा वार्ता भइरहेको बताइएको छ । समितिको तर्फबाट मदन हलवाई, भूदेव बुढाथोकी, किरण भट्टराई र कन्चन पञ्चकोटी वार्ता टोलीमा रहेको समितिले जनाएको छ। माग पुरा नहुन्जेल सम्म आन्दोलन जारी रहने अध्यक्ष कोइरालाले बताए ।

BP-Talabandi