धरान : ग्रिन तारा ग्रुप अफ कम्पनी र सिद्धि विनायक सप्लायर्स धरानले जिल्ला प्रहरी कार्यालय, सुनसरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालयमा नै पुगेर कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी कमल थापालाई ग्रीनताराका अध्यक्ष एवं प्रबन्ध निर्देशक सम्राट् श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र युवा नेता तथा समाजसेवी रोहित निरौलाले संयुक्त रूपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण गरेका स्वास्थ्य सामग्रीहरूमा सर्जिकल मास्क पाचहजार थान, केएन ९५ मास्क एक सय थान, सर्जिकल ग्लव्स एक सय थान, स्यानिटाइजर ३ सय ६० थान, ह्याण्ड वास १ सय थान र ५ लिटर स्यानिटाइजर रहेको छ ।

कोरोना महामारीको पुनः जोखिम बढे सँगै दोस्रो चरणमा लकडाउन लागु गरिए पछि विशेष गरी फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको ग्रीनतारा कम्पनी अध्यक्ष श्रेष्ठले बताए ।

अहिलेको अवस्थामा नागरिकको सुरक्षामा खटिनुहुने सुरक्षाकर्मी स्वयं स्वास्थ्य रहे मात्र हामी आम नागरिकलाई सुरक्षा दिन सक्ने उनले बताए । यो समयमा सहयोग गरेर कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व निभाएको उनले बताए ।

कोरोना महामारीको दोस्रो लहर चलिरहँदा विशेष गरी फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मीहरू अत्यन्त्य जोखिममा रहेको र यो अवस्थामा विभिन्न सामाजिक संस्थाहरूबाट सहयोग, सद्भाव प्राप्त हुँदा हामीमा हौसला तथा मनोबल वढने जिल्ला पहरी कार्यालय, सुनसरीका प्रमुख एसपी कमल थापाले बताए ।

सुरक्षामा खटिदा आवश्यक स्रोत साधन कमी भइरहेको वेला सहयोग गरी सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको हौसला बढाइदिएको भन्दै एसपी थापाले सहयोग दाताहरूलाई धन्यवाद दिए ।

सहयोग सामग्री युवा नेता तथा समाजसेवी रोहित निरौलाको संयोजनमा सङ्कलन भएको थियो। हस्तान्तरण कार्यक्रममा सिद्धि विनायक सप्लायर्सका प्रोप्राइटर वेणु कोइराला, पत्रकार सञ्जय याक्खा लगायतको उपस्थिति रहेको थियो ।