धरान : धरान उपमहानगरपालिकाले अक्सिजन सहितको २५ शय्याको आइसोलेसन सञ्चालनको तयारी थालेको छ ।

धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बुको अध्यक्षतामा बसेको बैठकमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमहानगरकारका प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल, स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेता र हरियाली सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी सहितको टोलीले धरान १९ को हरियाली सामुदायिक वन उपभोक्ता समितिको भवनमा आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो ।

आइसोलेसन तुरुन्त सञ्चालनमा ल्याउने गरी आजै देखि आइसोलेसन सञ्चालनका लागि चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्थापन धरान उपमहानगरपालिकाले गर्ने र व्यवस्थापन १९ का वडाध्यक्ष र वडाकार्यालयले गर्ने गरी निर्णय भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

पहिलो चरणमा २५ शय्याको महिला पुरुष दुवैका लागि तयारी गरिने पछि ५० शय्या सम्मको आइसोलेसन सञ्चालन गरिने छ । त्यसमा सम्पूर्ण सामाग्री र स्वास्थ्यकर्मी, एम्बुलेन्सको व्यवस्थापन धरान उपमहानगरपालिकाले गर्ने छ । आइसोलेसनमा पत्रकाहरुका लागि पनि छुट्टै केही शय्या तयारी अवस्थामा राखिने बताइएको छ ।

गत वर्ष पनि हरियाली सामुदायिक वन उपभोक्ता समितिको भवनमा आइसोलेसन तयारी गरिएको थियो । कुनै पनि सङ्क्रमित भने भर्ना गरिएन । यस पटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बढ्यै भएकोले आइसोलेसन अक्सिजन सहितको तयारी गरिएको बताइएको छ ।

Isolation-Nirnaya-1 Isolation-Nirnaya-2