धरान : नेपाल सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा धरानका वरिष्ठ पत्रकार हर्ष सुब्बा सहित १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

आज छैटौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो।

'वरिष्ठ पत्रकार सम्मान २०७६' मरणोपरान्त स्व.शुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई दिइएको छ । त्यस्तै वरिष्ठ पत्रकार सम्मान २०७७ बाट पत्रकार रघु मैनाली र शार्दूल भट्टराईले पाएका छन्। दुई वर्षको पुरस्कार एकैसाथ घोषणा गरिएको हो । पुरस्कारको राशि जनही नगद २/२ लाख रुपैयाँको रहेको छ ।

यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्रमान बुढा (उजिर मगर), मात्रिक पौडेल, सङ्गीता खड्का, शेषराज दाहाल, हेमन्त बहादुर वि.क. र शीतल शाह रहेका छन् ।

त्यसै गरी २०७७ बाट दिलीप कुमार थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजङ पाण्डे, नितु पण्डित र पुनम पौडेल रहेका छन्। राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित सबै पत्रकारहरूले जनही १/१ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।name-list