धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा बिरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको छ ।

शुक्रवार धरान उपमहानगरपालिकाको मेयर तिलक राईको अगुवाइमा कोभिड अस्पतालमा रहेका बिरामीको आफन्तका लागि कुरुवा घर निर्माण गरिने  निर्णय भएको हो ।

कोभिड अस्पतालमा बिरामी कुरुवा घर नभएको कारण बिरामीको आफन्तलाई समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रस्टको निर्माण गरिन लागेको नेपाली काँग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए ।

सचिव पोख्रेलका अनुसार बिपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा सधैँ क्रियाशील रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने भएको हो । अस्थायी बिरामी कुरुवा घर १८ फिट चौडाइ र ८० फिट लम्बाइको हल, शौचालय र स्नान कोठासहितको सुविधा सम्पन्न हुनेछ।

मारवाडी सेवा समाजका अध्यक्ष अनिल अग्रवालका अनुसार कुरुवा घर निर्माणका लागि इन्जिनियरले स्टिमेट तयार तयार पार्ने र शनिवार बाट भवन निर्माण सुरु गरिने उनले बताए । ‘बिरामी कुरुवा घर यहाँ पहिला नै निर्माण गर्नुपर्थ्यो, हामी ढिला भयौँ, भोलिबाट निर्माण कार्य सुरु भयो भने हप्ता दश दिनमा सकिन्छ ।’ निर्माण सम्पन्न भएपछि कोभिड सङ्क्रमितका आफन्तका लागि कुरुवा घरले केही हदसम्म सहज वातावरण सिर्जना गर्ने उनले बताए ।

‘बिरामी कुरुवा घर निर्माणका खर्च कति लाग्छ भनेर टुङ्गो लागेको छैन,’ उनले भने । उनका अनुसार कुरुवा घरको स्टिमेट तयार पार्न धरान उपमहानगर वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ र बिपी प्रतिष्ठानका इन्जिनियर निर्मल अधिकारीलाई दिइएको छ।

भवन निर्माण हुने जग्गाको स्थलगत अनुगमन गर्न धरान उपमहानगरका मेयरसहित, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल, मारवाडी सेवा समाज र नेपाल अग्रवालका प्रतिनिधिहरू मोतीलाल अग्रवाल, अनिल अग्रवाल, पवन अग्रवाल, अस्पताल निर्देशक डा. गौरी शङ्कर शाह, नेपाली काँग्रेस धरानका सचिव युवराज शङ्कर पुगेका थिए ।