विराटनगर : विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएका छन् ।

कोरोनाबाट सङ्क्रमित भएकाहरूले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को १ झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई समेत जनसेवामा समर्पित गर्ने निर्णय गरेको मेयर पराजुलीले बताएका छन् ।

शुक्रवार विज्ञप्ति जारी गरी मेयर पराजुलीले कोरोनाको बढ्दो सङ्क्रमणका कारण बिरामीले समयमा एम्बुलेन्स समेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाएका छन् ।

“तोकिएका सवारी साधन प्रयोग गर्न महानगर कार्यालय अथवा हाम्रो सचिवालयमा सम्पर्क गर्न सकिने छ । यो सङ्कटको घडीमा हामी आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने पनि जानकारी गराउँदछौँ” पराजुलीले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली काँग्रेस विराटनगर महानगर समितिका सभापति अरुण न्यौपानेले पनि आफूले चढ्ने गरेको बा १५ च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेको विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

'थोरै भए पनि सहयोग गर्ने उद्देश्यले म एउटा राजनीतिक कार्यकर्ता र जन सेवक भएको हिसाबले सहयोग गरेको हुँ' विज्ञप्तिमा उल्लेख छ ।

BRT-Bigyapti