धरान : धरानका उद्योगपति तथा व्यवसायी रोशन सोनीको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

धरान-३ निवासी ५९ बर्षीय सोनीको विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा उपचारको क्रममा गए राति १०ः४५ बजे निधन भएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए ।

उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि थप स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि एक साताअघि विराट मेडिकल शिक्षण अस्पताल लगिएको थियो ।

पारिवारिक स्रोतका अनुसार सोनी पछिल्लो समय आन्द्रामा समस्या भएर उपचारको लागि भारतको दिल्ली गएका थिए । त्यहाँ अप्रेसन गरेर उनी घर फर्किएका थिए । सोही क्रममा पिसिआर जाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

सोनी सुनसरी उद्योग वाणिज्य सङ्घको सल्लाहकार र उनको धरानको तीनकुनेमा सूर्य कत्था उद्योग र टरपेनटाइन खोटोको उद्योग सञ्चालन गर्दै आएका थिए भने पेट्रोल पम्प समेत सञ्चालन गर्दै आएका थिए । उनको शवलाई विराटनगरको सिंगिया खोलामा अन्त्येष्टि गरिने अध्यक्ष सापकोटाले जानकारी दिए ।