धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानका चार जना पदाधिकारी र मेट्रोनको कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आज एक अपिल जारी गर्दै तालाबन्दी भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको उच्चतम सङ्क्रमणको सम्भावनालाई मध्यनजर गरी अत्यावश्यक सेवा बाहेक कुनै पनि सभा, सम्मेलन, गोष्ठी, बैठक, तालिम, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलापहरू नगर्न नगराउन भनिएको छ ।

प्रतिष्ठानबाट परिपत्र गरिएता पनि प्रतिष्ठानको कर्मचारी कल्याण तदर्थ समितिले मिति २०७८ वैशाख १४ गते विज्ञप्ति प्रकाशित गरी राखेका विभिन्न मागहरूको विषयलाई लिई विना पूर्व सूचना वैशाख २४ गते उपकुलपतिको कार्यालयमा घेराउ एवं बन्द गराउने कार्यमा केही कर्मचारीहरू उत्तेजित भई लागि परेको र पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी समेत गरेको प्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको अपिलमा उल्लेख छ ।

कर्मचारीहरूले राखेको मागको सम्बन्धमा प्रतिष्ठान सदैव सकारात्मक रहेको र उक्त विज्ञप्तिमा उल्लिखित अधिकांश मागहरूको प्रतिष्ठानले आंशिक सम्बोधन गरिसकिएको र केही प्रक्रियागत रूपमा रहेको अपिल मार्फत जानकारी दिइएको छ ।

साथै कर्मचारीका जायज मागहरू पुरा गर्न प्रतिष्ठान सदैव सकारात्मक रहेको र उठान गरिएका मागहरू सम्बोधन गर्ने सन्दर्भमा हाल प्रतिकूल अवस्था रहेको कारण सहज परिस्थिति सिर्जना भएसँगै उक्त मागहरू प्रतिष्ठानले क्रमशः पुरा गर्दै जाने कुरा सबैमा विश्व दिलाउन चाहन्छु अपिलमा उल्लेख छ ।

स्थानीय सरकार एवं प्रशासनले समेत आगामी वैशाख ३१ गते सम्म अत्यावश्यक सेवा बाहेक अन्य प्रयोजनका लागि सार्वजनिक रूपमा भेला एवं हिँडडुल गर्नमा समेत निषेधाज्ञा जारी गरेको अवस्थामा कुनै प्रकारका अवाञ्छित क्रियाकलाप नगर्न नगराउन सम्बन्धित सबैमा सूचित गरिन्छ अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ अपिलमा उल्लेख छ ।