धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा धरान-१६ का एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार धरान १६ का ४१ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ९ः०४ बजे मृत्यु भएको हो । उनलाई वैशाख २३ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमण भएर मृत्यु हुनेको सङ्ख्या वैशाख यता कोरोनाको दोस्रो लहरको क्रममा ६ जना पुगेको छ ।

मृतक धरान-१६ समिचौकमा डेरा गरी बस्दै आएको र उनको स्थायी घर सप्तरीको कञ्चनपुर रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । मृतकको शव व्यवस्थापन नियम अनुसार शव व्यवस्थापन समितिले गर्न तयारी गरिरहेको बताइएको छ ।