झापा : झापामा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन गरिएको छ।

दुई दिनमा झापा प्रहरीले विभिन्न उद्योगबाट एक सय ११ वटा सिलिन्डर सङ्कलन गरेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् ।

मेडिकल बाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी पाएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भट्टराईले बताए।

कोभिड-१९ को महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ ।

विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पुर्‍याएको छ । दमकको मातृका ट्रेडर्स र बिर्तामोडको कपुरी ब्रदर्स र जलकन्या ट्रेडर्समा ती सिलिन्डरहरु रिफिलका लागि पठाइएको भट्टराईले बताए ।

उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको जानकारी दिए । सङ्कलन गरिएका सिलिन्डरहरु निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको भनाइ छ ।

jhapa-oxygne-2