धरान : गत बिहीबार इटहरीमा नग्न अवस्थामा मृत भेटिएका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा इटहरी-६ बस्ने २४ वर्षीय प्रकाश भन्ने विशाल तामाङ रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

हत्या गर्ने व्यक्तिको खोज तलास गर्ने क्रममा तामाङले लगाएको जुत्तामा हल्का रगत लतपतिएको देखेपछि तामाङलाई इटहरी-६ स्थित धरान होटल एन्ड सेकुवा कर्नरको छेउमा बसिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी केसीले जानकारी दिए ।

उनले लगाएको जुत्ता पनि मृतककै भएको खुलेको छ । यस विषयमा कसले किन हत्या गर्‍यो ? उनीहरुकोे सम्बन्ध केहो ? र हत्यामा कति जनाको संलग्नता छ ? भन्नेबारे थप अनुसन्धान गरिने डिएसपी केसीले बताए ।

इटहरी ६ स्थित टेङ्ग्रा खोला पूर्व खाली जमिनमा फेला परेका मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन भने मृतकले हानेको ट्याटुमा दाहिने हातको नाडीमा दुःखी राई लेखेको पाइएको छ ।

मृतक युवाको टाउको, अनुहारमा भारी बस्तुले प्रहार भएको र शरीरमा गहिरो गहिरो चोट देखेपछि उक्त घटनामा प्रहरीले सक्रियता देखाएको थियो ।

पक्राउ परेका तामाङलाई सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।