इटहरी : इटहरीको एरिना टेलिभिजनले अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । ३ पाङ्ग्रे अटो सफारीलाई एम्बुलेन्सको रूपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो ।

'समाजिक अभियान हाम्रो दायित्व' भन्ने मुलमन्त्रका साथ शनिवार बाट एम्बुलेन्स सेवा सुरु गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले बताए । कोरोना भाइरसको नियन्त्रण तथा सङ्क्रमितको उपचारमा सहजता ल्याउन नयाँ कामको थालनी गरेको उनको भनाइ छ ।

इटहरी उपमहानगरपालिका द्वारा सञ्चालित एम्बुलेन्स अपर्याप्त भएकाले अटो एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको उनले जानकारी दिए । एम्बुलेन्सको चालकको सुरक्षा लगायतको जिम्मेवारी इटहरी उपमहानगरपालिकाले लिने भएको छ ।

कोरोना परीक्षण (पिसिआर टेस्ट) गर्न चहानेहरुले पनि अटो एम्बुलेन्सको सेवा लिन सक्ने बताइएको छ । एरिना अटो एम्बुलेन्स सेवाको शुभारम्भ कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले सहभागिता जनाएकी थिइन ।

महामारीमा एउटा सानो सहयोग पनि अर्थपूर्ण हुने भन्दै एरिना टेलिभिजनलाई धन्यवाद दिइन ।