झापा : अत्यावश्यक काम बाहेक हिँडडुल गर्ने सर्वसाधारणलाई चोक-चोकमा होल्ड गराउन थालिएको छ।होल्ड गराउँदै प्रहरीले पूर्ण निषेधाज्ञामा पालना गर्नुपर्ने नियमहरूका बारेमा बताउन थालेका छन् ।

शनिवार बिर्तामोडको मुक्ति क्षेत्रमा अनावश्यक हिँडडुल गर्नेहरूलाई होल्ड गराउँदै सहजीकरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले महामारीबाट सुरक्षित रहन आफै सतर्क बन्नुपर्ने बताएका छन् ।

उनले अनावश्यक हिँडडुल गर्दा सङ्क्रमणको जोखिम बढ्ने भन्दै अत्यावश्यक काम बाहेक नहिँड्न र हिँड्नै परेमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

होल्डमा परेकाहरूलाई प्रहरी उपरीक्षक भट्टराईले पूर्ण निषेधाज्ञाको पालना नगर्नेहरूलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन् । सहजीकरण गर्दै उनले निर्माणको क्षेत्रमा काम गर्ने मजदुरहरूलाई व्यवसायीले सोही ठाउँमा बस्न व्यवस्था गर्नुपर्ने जानकारी दिए ।

उच्च जोखिम कै कारण पूर्ण निषेधाज्ञा लागु गरिएको बताउँदै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । सबैको जीवन सुरक्षा गर्न कै लागि यो व्यवस्था लागु गरिएको भन्दै उनले निषेधाज्ञाको पालना गर्न अपिल गरेका छन् ।

प्रहरीले जिल्लाका प्रायः सबै जसो चोकहरूमा चेकजाँच बढाएको छ । बिर्तामोडको मुक्ति चोकको चारै भागमा प्रहरीले कडा जाँच गरिरहेका छन् ।

बिर्तामोडका डिएसपी सन्तोष आचार्य, झापा ट्राफिक प्रमुख निषेश चापागाईँले समेत सर्वसाधारणलाई अनावश्यक हिँडडुल नगर्न आग्रह गरेका छन् । उनीहरूले स्थानीय तहको पासमा हिँड्न नपाइने जानकारी दिए ।