इटहरी : मोरङको सुन्दरहरैंचा नगरपालिकाले कोरोना सङ्क्रमितको लागि अत्यावश्यक औषधि घरैमा पुर्याउने उद्घोष गरेको छ ।

शनिवार मेयर शिवप्रसाद ढकालको अध्यक्षतामा बसेको बैंककले १२ वटै वडामा स्वास्थ्यकर्मीहरू खटाई कोरोनाका बिरामीलाई घर घरमा गई अत्यावश्यक औषधी निःशुल्क वितरण सहित प्राथमिक उपचार गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा २४ सै घण्टा सेवा दिने गरी समिति नै गठन गरिएको छ। सेवाग्राहीले जुनसुकै बेला ०२१-५४५६६६ नम्बरमा फोन गरेर समस्या टिपाउन सक्ने गरी व्यवस्था गरिएको छ ।

कोरोना सङ्क्रमणको दर बढ्दै गएकोले पूर्वाञ्चल विश्वविद्यालयमा सङ्क्रमित हरूलाई प्राथमिक उपचारका गर्न ५० बेडको कोभिड अस्पताल तत्काल स्थापना गर्न अनुरोध गर्ने र सोका लागी नगरपालिकाले आवश्यक सहयोग गर्ने निर्णय भएको छ ।

त्यस सँगै सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ र सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घबाट कोरोनाका बिमारीलाई लक्षित गरी कम्तीमा १५० थान अक्सिजन सिलिन्डरको व्यवस्था मिलाइने भएको छ । हाल सञ्चालनमा आएको एम्बुलेन्स अपर्याप्त हुनसक्ने भन्दै एउटा एम्बुलेन्स थप गरिन लागेको मेयर ढकालले जानकारी दिए ।

उनका अनुसार प्लाज्मा थेरापी तथा अन्य बिरामीका लागी रगतको आवश्यक व्यवस्था मिलाउन गछिया जेसिस र इन्द्रपुर जेसिजले रक्तदान कार्यमा आवश्यक समन्वय गर्ने भएको छ । अहिलेको विषम परिस्थितिमा संयमित भई आवश्यक सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरिएको छ ।

Sundarharicha-nagarpalika-N