धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको निर्देशनमा  प्रहरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनकारीले लगाएको ताला फोडेको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा चार जना पदाधिकारीहरूको कार्यकक्षमा गरिएको तालाबन्दी आज सिडियो ढकालको निर्देशन पछि ताला प्रहरीले फोडेको हो ।

सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड विपरीत भेला हुने कार्य भइरहेको, कोभिड महामारीको बेला र सुनसरी प्रशासनले लकडाउन गरेको बेला ताला लगाएको भन्दै ताला तोडेको सिडियो ढकालको भनाई छ ।

कोभिड उपचारमा खटिएका कर्मचारीहरूले जोखिम भत्ता हालसम्म नपाएको, कोभिडमा खटिएका कर्मचारीहरूलाई क्वारेनटाइन र खानाको व्यवस्था नगरेको लगायत पाँच वटा माग राखेर शुक्रवार उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रर, अस्पताल निर्देशक र नर्सिङ मेट्रोको कार्यालयमा पनि तालाबन्दी गरेका थिए ।

आन्दोलन गरिरहेका समितिका किरण भट्टराई पाँच बुँदे मध्ये एउटा मागको पनि सम्बोधन नभएकाले माग पुरा नहुन्जेल सम्म आन्दोलन जारी रहने बताएका छन्।

यस्ता छन् समितिका माग

कोभिड-१९ को कोरोना भत्ता पारदर्शी र समान रुपमा वितरण हुनुपर्ने, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशीघ्र एकमुष्ठ रूपमा उपलब्ध गराउनुपर्ने, कर्मचारीहरूको आन्तरिक फायल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीहरूलाई करार गर्नुपर्ने र कर्मचारी कल्याण समाजको निर्वाचन तत्काल गर्नुपर्ने माग राखेर कर्मचारी तदर्थ समिति आन्दोलनमा उत्रिएको समितिका अध्यक्ष राजन प्रसाद कोइरालाले जानकारी दिए।