प्रकाशपुर : बराहक्षेत्र-१० प्रकाशपुर निवासी ७२ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको छ। चक्रघट्टी स्थित नगरपालिकाको आइसोलेसनमा रहेका उनको साँझ ७:२० मा मृत्यु भएको हो।

आइतबार दिउँसो ११ बजेको आसपासको समयमा उनलाई आइसोलेसनमा ल्याइएको थियो। आइसोलेसनमा आउँदा श्वासप्रश्वासमा सामान्य समस्या देखिएको थियो।

शरीरको अक्सिजनको प्राविधिक हिसाबमा भने आत्ती हाल्नुपर्ने अवस्था उनको थिएन । तर पनि, अक्सिजन दिएरै उनलाई आइसोलेसनमा राखिएको त्यहाँ खटिने स्वास्थ्यकर्मी बताउँछन् ।

एक्कासि शौच गर्न गएका उनी लड्खराए । त्यसपछि उनको अक्सिजन लेभल उनको निकै घट्यो । हतार गरेर आइसोलेसनका हेल्थ असिस्टेन्ट विकास झा लगायतले उनलाई रेफर गर्ने तयारी सुरु गरे । तर, रेफर गर्न गाडीमा चढाउँदै गर्दा उनको मृत्यु भयो ।

'आइसोलेसनमा दिउँसो ल्याउँदा अक्सिजन लेभल आत्तिनु पर्ने थिएन। ट्वाइलेट जाँदा अलि थेग्न नसक्ने हुनु भएछ ।' आइसोलेसन केन्द्रका स्वास्थ्यकर्मी विकास झाले भने 'नोबेल अस्पतालमा बेड भनेर पठाउने तयारी गरेका थियौ । गाडीमा पुर्याउदा नपुर्‍याउँदै डेथ भयो ।'